काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन्।
पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताएका हुन्।
‘विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरी लाग्छौँ। आगामी दिनमा नदोहोरियोस् भनेर माओवादीका नेताले भनिरहनुभएको छ। कसैले अन्य ढंगले कुरा गरिरहेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ। गठबन्धन टुट्नेवाला छैन। आउने चुनावसम्म गठबन्धन कायम रहन्छ। यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ।’
उनले राम्रो ठाउँमा आफै लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। ‘सबै सिट आफै लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौँ,’ उनले भने, ‘आफ्नो शक्तिमा अडिएर अगाडि बढ्छौँ। शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ।’
नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको सम्झँदै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए।
‘हामीले २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो। त्यसपछि दुई तिहाइ बहुमत पाएको थियो। यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो,’ उनी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनमा धेरै सिट जितेको हुन्थ्यो। तर त्यो सबै बिगारेको एमाले नेता केपी ओलीले हो।’

प्रतिक्रिया दिनुहोस्