कैदी भागेपछि नख्खु कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् ।

हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले  बताए ।

उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ ।

भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ । नेपाल प्रहरीको टोलीले बुधबार कारागारका कैदी रामेछापका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो ।

त्यसक्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी फरार भएका थिए । ‘उपचार गर्नका लागि एकातिरको हत्कडी खोलेका बेला उनी भागेका थिए’ जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले भने, ‘उनलाई बिहीबार बिहान लुभुबाट पक्राउ गरिसकेका छौं ।

’ प्रहरीका अनुसार उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको छ । बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।

उनको आँखामा समस्या देखिएको थियो । घटनाको छानविनका लागि ललितपुर प्रहरीका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको एसएसपी पोखरेलले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्