शिक्षक छनाेटमा भागबन्डा नमिलेपछि विवाद 

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

दाङ – शिक्षक छनाेटमा भागबन्डाकाे प्रयास भएपछी दाङको राप्ती गाउँपालिकामा विवाद उत्पन्न भएको छ । पालिकाले रातारात उत्तर पुस्तिका जाँचेर नतिजा प्रकाशन गर्न खाेजेपछि विवाद चर्किएको हाे। गाउँपालिकाकाे कार्यालयमा प्रहरीकाे सुरक्षा दिनुपर्ने अवस्था सृजना भएको छ ।

राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बालशिक्षादेखि १० कक्षासम्म नि:शुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयमा शिक्षक अपुग छन् । त्यसका लागि अनुदान शिक्षक करारमा पदपुर्ति गर्न प्राथमिक, आधारभूत र माध्यमिक शिक्षातर्फ विभिन्न विषयमा ५० जना शिक्षकका लागि आवेदन खुल्ला गरी शनिबार तीन चरणमा नमूना आर्दश मावि लालमटियामा परीक्षा लिई गाउँपालिका कार्यालयमा कापी जाँच भइरहेकाे थियाे ।

त्यस क्रममा माओवादी र राष्ट्रिय जनमाेर्चाबीच शिक्षक छनाेटमा भागबन्डा गर्ने तयारी भइरहेकाे खबर पाएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरू पनि त्यहाँ पुगेपछि विवाद भएकाे थियाे। शिक्षक छनाेटका विषयमा भागबन्डा मिलाउन माओवादी र जनमाेर्चाकाे पालिकाभित्र बैठक बसी रहेकाे खबर पाएर नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू त्यहाँ पुगेपछि विवाद भएकाे थियाे। भागबन्डा नै गर्ने भए कांग्रेसलाई पनि भाग चाहिने भनेपछि विवादले उग्ररूप लिएकाे बताइएको छ। यता कांग्रेसले भने शिक्षक छनाेटमा माओवादीले आफ्ना कार्यकर्ता मात्र भर्ती गर्न खाेजेकाे भन्दै आज आइतबार पालिकाकाे कार्यालयमा तालाबन्दी गर्नेसम्मकाे चेतावनी दिएकाे छ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि हरि भुसालले पालिकाकाे शिक्षक छनाेट प्रक्रिया निष्पक्ष नभए वा आफूखुसी भागबन्डा गरे तालाबन्दी गर्ने चेतावनी दिए। त्यस्तै, नेकपा एमालेले भने शिक्षा समिति गठनदेखि शिक्षक छनाेट प्रक्रियासम्म पालिका अध्यक्षले आफूखुसी बल मिचाइ गरेकाे भन्दै आपत्ति प्रकट गरेकाे छ। यसैबीच गाउँपालिकाकाे नि:शुल्क शिक्षा कार्यान्वयन निर्देशन समितिकाे सदस्यबाट नेकपा एमालेबाट निवार्चित ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरी र वडा सदस्य गीता चाैधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएका छन्।

शिक्षक छनाेट समिति गठनदेखि शिक्षक छनाेट प्रक्रियामा समेत व्यापक कानुनी त्रुटि गरेर शिक्षक छनाेटमा बल मिचाइ भएकाे आराेप लगाए। गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई बुझ्दा शिक्षक छनाेट निष्पक्ष रूपमा भइरहेका बेला कांग्रेसले भागबन्दा खाेजेर धाधली गर्न खाेजेकाे आराेप लगाए। ‘हामीले निष्पक्ष रूपमा शिक्षक छनाेट गर्ने गरी प्रक्रिया अगाडि बढेकाे अवस्था कांग्रेसले भागबन्डा खाेजेर गलत राजनीतिकाे संस्कार देखायाे’,उनले भने, ‘शिक्षक छनाेटमा कुनै पनि हालतमा राजनीति भागबन्डा गर्न मिल्दैन।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्