ज्ञानज्योती ईन्टर कलेज टि- २० क्रिकेट सुरु, ज्ञानज्योती र महेन्द्रको विजयी सुरुवात

लक्ष्मण बस्नेत.
लक्ष्मण बस्नेत. १८ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

दाङ – ज्ञानज्योती ईन्टर कलेज टि- २० क्रिकेट प्रतियोगिता २०७९ आज देखि तुलसीपुर अरनिको मैदानमा सुरु भएको छ । ज्ञान ज्योती कलेज तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका – ६ का अध्यक्ष दुजमान भण्डारीको ब्याटिङ, ज्ञान ज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसीको बलिङ र दाङ जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बालकृष्ण खत्रीको फिल्डिङबाट गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन नसक्दा सिङ्गो खेलक्षेत्र ओझेलमा परेको बताउनु भएको छ । स्थानीय स्तरबाट खेलकुदको विकास हुनुपर्छ भनेर मात्र के गर्नु राज्यले खेल क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण साँघुरो छ जसको प्रत्यक्ष मार स्थानीय स्तरले खेप्नु परेको छ उहाँले भन्नुभयो । ज्ञानज्योती एजुकेसन फाउन्डेसनले खेलकुद क्षेत्रमा गरेको लगानी र उपलब्धिको उच्च प्रशंसा गर्नु भएका भण्डारीले निजि क्षेत्रबाट खेल गतिबिधिले राज्यलाई दवाव सृजना गरेको बताउनु भयो ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मन बहादुर खड्का, जिल्ला खेलकुद विकास समिति दाङका कोषाध्यक्ष ध्रुव आचार्य, एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम, जिल्ला क्रिकेट संघ दाङका कोषाध्यक्ष बालकृष्ण खत्री, जिल्ला युवा परिषद दाङका अध्यक्ष ऋषिराज लहरे, खेल पत्रकार लक्ष्मण बस्नेत लगाएतले बोल्नु भएको थियो ।

ज्ञानज्योती कलेजका एजुकेसन कोर्डिनेटर शरद गौतमको धन्यवाद रहेको कार्यक्रमको संचालन कलेजका सोम राज बस्नेतले गर्नुभएको थियो । यसैबिच आज भएको उद्घाटन खेलमा आयोजक ज्ञानज्योती कलेजले बिजयी सुरुवात गरेको छ । मेट्रो कलेज तुलसीपुर – १२ हरिपौरीलाई १ सय १ रनले पराजित गर्दै ज्ञान ज्योतिले विजयी सुरुवात गरेको हो ।

त्यस्तै राप्ती बबई क्याम्पस तुलसीपुरलाई २ सय ५२ रनको विशाल अन्तरले पराजित गर्दै महेन्द्र बहुमुखी क्याम्पस बिजयी भएकोछ । कलेज स्तरबाट क्रिकेट खेलको विकास र बिस्तारका साथै नयाँ प्रतिभाको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ जिल्लामा स्थापित कलेजका १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद १५ हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएकोछ । प्रतियोगिता अन्तरगत भोलि बिहानको पहिलो खेलमा मावि जजरागाउँ घोराही र सिद्दपृथ्वी श्रीगाउँ भिड्नेछन् । खेल बिहान साढे सात बजेदेखी सुरु हुने आयोजकका सुदीप नेपालीले जानकारी दिनु भएको छ ।

लक्ष्मण बस्नेत.

प्रतिक्रिया दिनुहोस्