लमही नगरपालिका-७ का मोहन गिरी वडा नम्बर ७ को वडा अध्यक्षमा दुई पटक निर्वाचित हुनु भयो । दुई पटक वडाको अध्यक्ष पदमा निर्वाचित भएपछी हालसम्म उहाँको अगुवाईमा वडामा के कस्ता योजनाहरु भए ? वडाबासीले प्रत्यक्ष लाभ लिन सकेका छन वा छैनन् ? यस्तै विषयमा रहेर हामीले वडाअध्यक्ष गिरीसंग कुराकानी गरेका छौ।
१- अध्यक्ष ज्यु यहाँलाई सर्वप्रथम स्वागत छ, यहाँ त दुई पटक निर्वाचित हुनु भयो ति वर्ष कस्ता रहे ?
धन्यवाद, पहिलो वर्ष सिकाईमै बित्यो, तर काम पनि भएका छन । दोस्रो पटक निर्वाचित भएपछी पहिलो वर्षको अनुभवलाई कार्यान्वयन गर्दैछु । शुरुको वर्षमा नीति निर्माण गर्दा गर्दै समय पुगेन जस्तो लाग्छ । अघिल्लो पटक बाँकी रहेका योजनाहरुलाई दोस्रो पटकको कार्यकालमा गुनासो नआउने गरि काम गर्नु छ । समग्रमा भन्दा जनप्रतिनिधि भएर जनताको सेवामा आफुलाई समर्पित भएको महशुस भएको छ ।
२- वडाको विकासका लागि कस्ता पूर्वाधार योजना अगाडि बढेका छन् ?
वडादेखि नगरपालिकाको केन्द्र र गाउँदेखि सहर जोड्ने उद्देश्यले पूर्वाधार निर्माणको काम भइरहेको छ । हरेक वडाका बाटाघाटाहरु विभिन्न टोलसंग जोड्ने मुख्य सडकलाई संघ, प्रदेश र नगरपालिकाबाट क्रमशः निर्माण गर्दै छौँ । मेरो वडामा एकटोल एक पक्की सडक शीर्षकमा नगरपालिकाको बजेट विनियोजन गरिएको छ । प्राय : सबै क्षेत्रमा सडक कलोपत्रे भइसकेको अवस्था छ ।
३- स्वास्थ्य र शिक्षा क्षेत्रमा के कस्ता काम भए वा हुँदै छन ?
विद्यालय, विद्यार्थी र अभिभावकको भूमिका र महत्व बुझाउँदै अनुगमनलाई चुस्तदुरुस्त गर्न सके शिक्षाको गुणस्तर सुधार हुन सक्छ भन्ने हाम्रो बुझाइ हो । त्यसका लागि अभिभावक शिक्षा लागु गर्ने तयारीमा छौँ । क्षमता अभिवृद्धि, विद्यालयको आम्दानी वृद्धि, सकारात्मक सोचको विकासका लागि ध्यान, योग, साधना जस्ता क्रियाकलापमा सहभागी गराउँछौँ । सबै वडामा स्वास्थ्यको पहुँच सहज भएको छ । यस वडबाट लोकसेवा आयोग विगत देखि संचालन भइरहेको छ । त्यसलाई निरन्तर दिइरहेका छाँै । यस वडाका अति विपन्न तथा जेहनदार १८ जना विद्यार्थीहरुलाई वनगाउँ मा.विमा कृषि प्राविधिक निःशुल्क शिक्षा प्रदान गर्दै आएका छौँ भने आदर्श मा.वि देउपुरमा १३ जना विद्यार्थीलाई ओभरसियर र विभिन्न डिजाइनर सम्बन्धी एकजनालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेका छाँै । यस वडाका ५८ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरि ज्योती फर्काउने काम गरेका छाँै । देउखुरी बहुमुखि क्यामपसमा पहिलो वर्षमा भर्ना निःशुल्क, यस आर्थिमा वर्षमा वडामा अभिभावक शिक्षा सचेतना कार्यक्रम संचालन गर्ने तयारी, अर्जुन मावि हस्नापुरमा ८ र १० का विद्यार्थीलाई निःशुल्क कोचिङ् कक्षाको व्यवस्थापन गरिएको छ ।
४- संस्कृति र पर्यटनलाई चिनाउन सक्ने खालका केहि छन वडामा ?
हामी थोरै बजेटले प्रकृति सजाएर आकर्षण थप्दै पर्यटक लोभ्याउने गतिविधि गर्दै छौँ । यस वडामा रहेको बनघुस्री थारु सामुदायिक होमस्टेलाई व्यवस्थित बनाएर पर्यटक आकर्षित गरिने छ । अहिले यहाँ आन्तरिक पर्यटक आउँछन् । ग्रामीण अर्थतन्त्रसँग पर्यटन जोड्न होमस्टे सञ्चालनमा ल्याएका छौँ अव त्यसलाई अझै व्यवस्थित बनाउने योजना रहेको छ । कर्री सामुदायिक वन हुदैँ नवशाक्ती स्वर्गद्धारी हरियाली वनमा पर्यटकहरुलाई जंगल सफारीको तयारी भएको छ । त्यसको लागि वनक्षेत्रमा सडक तयारी अवस्थामा रहको छ । उचानिम्बु सामुदायिक वन अन्तरगत कप्तानगंजमा गिद्ध संरक्षण गर्दै आएको छाँै ।
५- प्रदेश र संघीय सरकारको सहयोग पालिकाले पाएको छ ?
प्रदेश र संघले सहयोग गर्दै आएको छ तर हाम्रा प्राथमिकतालाई ध्यान नदिएको देख्दा दुःख लाग्छ। अत्यन्तै महत्वको योजना पठायो, वास्ता गर्दैनन् । अनि मन्त्रीको क्षेत्रमा त्योभन्दा कम महत्वको योजनामा खर्च भइरहेको हुन्छ । प्रदेश र संघीय सरकारले रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको देख्दा दुःख लाग्छ । खासगरी किसानको क्षेत्रमा जस्तै कृषि र मलखादको विषयमा लगानी नहुदाँ किसान चिन्तित् बन्नुपर्ने अवस्था रहेको छ ।
६- तपाईंको वडाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?
मुख्य समस्या भनेकै पालिकाको सीमित बजेट अभाव हो । जसले गर्दा हामीले जनताका आवश्यकता बमोजिमको काम गर्न सकेका छैनौँ । यसको समाधानका लागि नागरिकलाई रोजगारी तथा उत्पादनसँग जोड्नेखालका कार्यव्रmमको व्यवस्थापनमा नगरपालिका लागिरहेको छ । आर्थिक पाटोलाई मजबुद बनाउन हामीले करको दायरालाई फराकीलो बनाउने योजना रहेका छ । जसबाट संकलित राजस्वलाई विकासका काममा प्रयोग गरिने छ ।
७- यो एकवर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?
काम गर्ने क्रममा चुनौती आउनु स्वाभाविक हो । मुख्यतः सीमित बजेट नै मुख्य चुनौतीको रूपमा देखियो । म नगरपालिकाको प्रवक्ता भएको हैसितले भन्नुपर्दा प्रमुख प्रशासकीय अधिकृत नहुनु, कहिलेकाही वडामा सचिव नहुनु, अर्को कुरा नागरिकका ससाना आवश्यकतामा पनि स्थानीय सरकारको भर पर्नुले हाम्रा ठुला योजना निर्माणलाई प्राथमिकतामा राख्दा साना योजना छुट्न पुगेका छन् । त्यसको परिपूर्ति आगामी दिनमा गर्ने छौँ । वडाको सिमाना देखि लिएर राप्ती नदीमा रहेको नदीजन्य पदार्थ व्यवस्थापनमा चुनौती देखिएको छ । विकास गर्ने क्रममा वनले धेरै अवरोध गरेको छ । सबै क्षेत्रमा वन जोडिएकाले विकास गर्न वन बाधक बनेको पनि छ । लमही बजार क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने निकै चुनौती रहेको छ ।
८ – अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
सबै कुरा बोलि सके जस्तो लाग्छ तर पनि मैले गरेका, भोगेका गर्न बाँकी रहेका योजना, विकासलाई मैले म रहंदा सम्म प्राथमिकतामा राख्ने छु। एकवर्षमा जेजती गर्न सकियो, अव आउने नयाँ आर्थिक वर्षमा अझ जनताका माझ पुगेर उहाँहरुसंगै योजनाहरु माग गरि आफ्नो कार्यकाल भित्र समग्र वडाको विकास गर्ने लक्ष्य लिएको छु । मेरो एकवर्षको अनुभव, वडाका सम्पूर्ण गतिविधिहरु तपाईको संचार माध्यमबाट जनतामाझा पु-याउन सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु । साथै यहाँहरुको साथ र सहयोग अन्य दिनहरुमा पनि रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्