दाङ – नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपालको अर्थ व्यवस्था खस्किदो र डामाडोल अवस्थामा रहेको बताए । दाङको लमहीमा शनिबार आयोजना गरिएको देउखुरी उद्योग वाणिज्य संघ लमहीको २० औं साधारणसभा तथा १२ औं अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले वाणिज्य संघलाई व्यवसायी चाहिएको छ तर व्यवसायीलाई संघ चाहिएको छैन, यस्तै भैरहने हो भने उद्योग वाणिज्य संघको अस्तित्व रहने होकी हैन भन्ने अन्यौलमा छ”- शर्माले भने ।
देशको आर्थिक अवस्था दयनीय छ तर सरकारले जसोतसो धानेको छ । राजनीतिक हस्तक्षेपका कारण देशको सिंगो अर्थतन्त्र धरापमा परेको शर्माको भनाई छ । व्यापारीका समस्या लगेर राज्य कहाँ कैयौंपटक गयौं हुन्छ हामी गर्छौं भन्छन तर कार्यान्वयन गर्दैनन्’- शर्माले भने ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले अर्थतन्त्रको मारमा परेका व्यवसायीको समस्यालाई मध्यनजर गर्दै लमही नगरपालिका भित्र व्यवसाय गर्ने व्यवसायीसंग लिने करको शुल्क घटाएको बताईन । पछिल्लो समययता जर्जर अवस्थामा रहेका व्यवसायीहरुलाई ध्यानमा राखी करको दायरा बढाउने र शुल्क घटाउनेमा नगरपालिका लागिरहेको योगीको भनाई छ ।
सामान खरिद बिक्रिको मुल्यमा एकरुपता ल्याउन आवश्यक छ, दिनप्रतिदिन व्यवसाय धरासायी बन्दै गएको कुरालाई जोड दिंदै पलायन भैरहेका व्यापारीहरुलाई कसरी पुनस्थापना गर्न सकिन्छ भनेर व्यापक छलफल गर्नु अहिलेको आवश्यकता देखिएको छ”- योगीले भनिन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले खुल्ला सिमानाका कारण व्यापारीहरु मारमा परेको बताएका थिए । महँगिले सिमा नाघ्न लाग्दा धेरै व्यापारीहरु सटर बन्द गरेर पलायन भएका छन, यो तर्फ राज्यको ध्यान जान जरुरि छ, साथै सबै सिमानाकामा एक सय भन्दा बढीको सामान ल्याए कर तिर्नु पर्ने व्यवस्था हुनु पर्नेमा उनीहरुको जोड छ ।
कार्यक्रममा पत्रकार केपि घिमिरे, देउखुरी बहुमुखी क्याम्पस लमहीका अध्यक्ष गणेश कुमार चौधरी, रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रवीलाल आचार्य, देउखुरी उद्योग वाणिज्य संघ लमहीका पुर्व अध्यक्ष लीलाराम खनाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, लमही नगरपालिका -५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय जम्सेद मियाँ, केशवराज भण्डारी लगायतले बोलेका थिए ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए भने संघका सचिव वसन्त कुमार भण्डारीले सहजीकरण गरेका थिए । संस्थाको आर्थिक र कार्य प्रतिवेदन कोषाध्यक्ष जागेश्वर बसेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कुसुण्डा भाषा खोज तथा अध्ययन अनुशन्धानकर्ता उदय आले र आशुतोष घरेलु उद्योगका सफल उद्दमी राजकिशोर कशौधनलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । शनिबारको अधिवेशनमा दुई तिहाई बबुमत नपुगेका कारण आगामी १८ गते सोमबार पुनः अधिवेशन बोलाइएको वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्