तीज पर्व शुरु, आज दर खाने दिन

दाङ समाचार
दाङ समाचार ३१ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

दाङ – हिन्दु नारिहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्लपक्ष द्वितिया अर्थात् हरितालिका तिजको अघिल्लो दिन तीजको निराहार ब्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरूले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाँचगान गरेर रमाइलो गर्ने चलन छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दर खाने दिनको भोलिपल्ट तिज पर्व पर्दछ ।

तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको छ ।
दर खाने समय र स्थान भने ठाउँअनुसार फरक–फरक रहेको छ ।

कतै साँझमा अन्य चिज नखाइ दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई स्वामी पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वास अझै कायमै रहेकाले अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिज पर्व मनाउने चलन छ ।

तीजको ब्रत सक्नेले निराहार बस्ने भएकाले आज ब्रतालुले शक्ति प्राप्तिका लागि मिठा–मिठा एवम् आडिलो परिकार दरका रूपमा खाई ब्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेष गरी माइती एवम् दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्