दाङ – बंगलाचुली गाउँपालिका -१ स्युजा निवासी गणेश विश्वकर्मा र पवित्रा राईले आफूहरुको विवाहको उपलक्ष्यमा वडा नम्बर १ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार बराबर राशिको अक्षय कोष स्थापना गर्नुहुने भएको छ।
आफूले एस.एल.सी उत्तिर्ण गरेको स्थानीय विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक/एक जना छात्र छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरी पढाइमा थप प्रेरणा तथा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले अक्षय कोषको स्थापना गर्न लागेको नव विवाहित जोडीले बताउनुभयो ।
समाजमा सुधार र परिवर्तनको सुरुवात आफैबाट गर्ने भन्दै उहाँहरूले विवाहमा हुने खर्च कटौती गरेर गणेश पवित्रा वैवाहिक अक्षयकोष खडा गर्न लागेको बताउनुभयो । उहाँहरुको यो विवाह अन्तर्जातीय विवाह समेत हो। उहाँहरूले भर्खरै मात्र दाङ जिल्ला अदालतबाट कोर्ट म्यारिज गर्नुभएको छ । उहाँहरूले दुवैजनाको परिवारकै सहमतिमा अन्तरजातीय विवाह गरेको बताउनुभयो ।
कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथिति भन्दा पर रही परम्परादेखि गरिँदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकास गर्न अदालतिय विवाह गरेको उहाँहरुको भनाई छ ।
विश्वकर्मा हाल बंगलाचुली गाउँकापालिकाको गाउँकार्यपालिका सदस्य र स्थानीय तहको न्यायीक समितिका सदस्य समेत हुनुहुन्छ भने दलित अधिकारकर्मी , सामाजीक अभियान्ता सँगै नेपाली कांग्रेस दाङका युवा नेता पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्