दाङ – राजपुर गाउँपालिकामा गाउँ युवा परिषद् गठन भएको छ । राजपुर गाउँपालिकाको आयोजना, लुम्बिनी प्रदेश युवा परिषद्को समन्वय तथा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमको सहकार्यमा युवा परिषद् गठन गरिएको सिड्स कार्यक्रमका संयोजक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीको अध्यक्षतामा गठन गरिएको परिषद्ले युवाहरुको हक हितको संरक्षण र प्रबद्र्धन गर्दै उनीहरुको सशक्तीकरण एवं समग्र विकासमा कार्यक्रम गर्नेछ ।
साथै शिक्षा, वकालत र पैरवीमार्फत सामाजिक, आर्थिक पक्षको विकास, सीप, उद्यमशलिताका माध्यमबाट स्वस्थ, अनुशासित र स्वरोजगार युवाहरुको विकास गर्न तथा स्थानीय स्रोत र साधनको अधिकतम उपयोगबाट समुन्नत गाउँपालिका निर्माणका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाहरुको सार्थक सहभागिता जुटाइनेछ ।
सबै वर्ग, तह र समुदायका युवाहरुलाई गाउँ विकासको मुल प्रवाहमा समाहित गर्न कार्यविधि बनाएर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी राजपुर गाउँ पालिकाले कार्यविधि बनाएर कार्यान्वयन गरेको हो ।
युवा परिषद्का लागि ११ सदस्य मनोनित गरिएको छ । सातवटै वडा युवा सञ्जाल तथा गाउँपालिकास्तरीय युवा सञ्जाल, युवा क्षेत्रमा काम गरेका र विशेष समुदायबाट गरी पाँचजना महिलासहित ११ जनालाई युवा परिषद्का लागि सदस्यमा मनोनित गरिएको हो ।
जसमा नरेश चौधरी, प्रभुदीन यादव, सकिना खातुन, नरेन्द्र यादव, अमरेश यादव, कमलेश यादव, निरन्जन यादव, शान्ति यादव, निर्मला रावत, टीका बिक, तिला सार्की रहनुभएको छ । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्काको प्रमुख आतिथ्यतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले युवाहरुलाई उद्यमशील बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । युवाहरुलाई सशक्तीकरण गर्दै समृद्ध पालिका बनाउन सहभागितामा जोड दिनुभयो ।
युवा तथा किशोर–किशोरीहरुको शैक्षिक तथा आर्थिक सशक्तीकरणका लागि युवा परिषदले महत्वपूर्ण भूमिका खेल्ने, शैक्षिक सुधार तथा रोजगारीका लागि आयमूलक कार्यक्रम गर्न आफ्नो नेतृत्वमा प्रदेशसभामा बजेट बिनियोजन गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले युवा परिषदले युवा तथा किशोर–किशोरीहरुको विभिन्न मुद्दाहरु पहिचान गरी स्थानीय तहले बजेट र कार्यक्रमले सम्बोधन गरिने बताउनुभयो । लुम्बिनी प्रदेश युवा परिषद्का उपाध्यक्ष गोविन्द केसीले स्थानीय स्तरमा रहेका विभिन्न सामग्रीहरु तथा सम्भावना पहिचान गरेर त्यसबाट आयआर्जनको माध्यम बनाउन सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले युवा परिषद्ले समग्र राजपुरका युवाहरुको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेयले समाज रुपान्तरणको लागि युवाहरुको सहभागिता र नेतृत्वको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यकारी निर्देशक प्रदीप मजगैयाँ राजपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष सूर्य प्रसाद चौधरी, वडा नं. २ का अध्यक्ष ओमप्रकास यादव, वडा नं. ७ का अध्यक्ष पुष्कर कुमार ओली, प्रदेश युवा परिषद्का कार्यकारी सदस्य सरोज खनाल, पाल्पा युवा परिषद्का संयोजक धनबहादुर रायमाझीलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण राजपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशव लम्सालले गर्नुभएको थियो । युगबोध

प्रतिक्रिया दिनुहोस्