अबैध रुपमा संकलन गरेको नदिजन्य पदार्थ नगरपालिकाद्वारा बरामद

दाङ समाचार
दाङ समाचार २४ आश्विन २०८०, बुधबार
3 Min Read
Aa

दाङ – अबैध रुपमा संकलन गरि राखेको नदिजन्य पदार्थ लमही नगरपालिकाले बरामद गरेको छ । राप्ती नदीबाट चोरेर नर्सरी, खोलाको किनार, खरबारी भित्र लुकाएर राखेको अवस्थामा फेला पारी बरामद गरिएको हो ।

नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, २ का वडा अध्यक्ष नेपालु चौधरी, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा, प्राविधिक अमित विश्वकर्मा, लमही नगर प्रहरी लगायतको टोलीले अनुगमन गर्दै अबैध रुपमा राखेको बालुवा र गिट्टी नापजाँच गर्दै बरामद गरेको हो ।

लमही नगरपालिका भित्र नदीजन्य कच्चा पदार्थ अबैध रुपले चोरिनिकासी बढ्न लागेपछि नगरपालिकाले यो कार्यलाई रोक्न प्रयास थालेको उपप्रमुख लक्ष्मी योगीले बताउनु भयो । जनप्रतिनिधि एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै जहाँ जहाँ यस्ता गलत काम हुन्छ्न त्यहाँका स्थानीयले तुरुन्तै खबर गर्दिनु होला”- योगीले भन्नू भयो ।

लमही नगरपालिका -७ को हसनापुरबाट ११ सय ५५ घन मिटर (५७७.५ ट्याक्टर ) बालुवा, गिधनियाँबाट ३ सय घन मिटर बलुवा, बनगैबाट १ सय ३८ घन मिटर (६९ ट्याक्टर ) बालुवा, सोही ठाउँबाटै १ सय ८ घन मिटर बालुवा गरि १७ सय १ घन मिटर नदिजन्य कच्चापदार्थ बरामद भएको छ ।

स्थानीय सरकारलाई नटेर्ने, आफू खुशी गर्ने जस्ता गुनासा आएपछि हामीले एउटा टिम बनाएर अनुगमन गर्यौं, अनुगमनका क्रममा जनताले गरेको गुनासो जस्तै भेट्यौं । जतिपनी हामीले बरामद र नियन्त्रण गरेका छौं ती सबैलाई कानूनी दायरामा ल्याएर कारबाही गर्छौं”- लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भन्नू भयो ।

लमही नगरपालिका – ६ मध्यनगर अर्जुनखोला घाटबाट २ वटा ट्याक्टर, ८ को गिधनियाँ घाटबाट २ वटा ट्याक्टर, वडा नम्बर २ को घाटबाट १ वटा गरि पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । त्यस्तै अबैध रुपमा थुपारेको बालुवा ढुवानी गर्न आएको एक वटा टिप्परलाई पनि टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका तथा संकलन गरेर राखेको गिट्टी बालुवा प्राविधिकबाट नापजाँच गरेका छौं सोही अनुशार प्रक्रियामा जान्छौं”- नगरप्रमुख जोगराज चौधरीले भन्नू भयो ।

बेवारिसे अवस्थामा रहेको गिट्टी बालुवालाई नगरपालिकाले सुरक्षित स्थानमा लगेर राख्ने काम भैरहेको छ । उक्त बालुवा, गिट्टी जस्ले संकलन गरेको हो सम्बन्धित व्यक्ति वा कम्पनीलाई छिटोभन्दा छिटो लमही नगरपालिकामा सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्