दाङ – घाईते नवजात शिशुको उपचार गर्न आर्थिक अभाव भएको छ । परिवारका सदस्यले उपचार गर्न समस्या परेको बताएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठको पहलमा आर्थिक संकलन गर्न थालिएको छ ।
केही दिन अघि १६ दिने नवजात शिशुलाई आफ्नै आमाले हत्या प्रयास गरेकी थिइन् । घाँटीमा धारिलो हतियार प्रहार गरेपछि शिशु घाईते छन् । उनको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ ।
हत्या प्रयासमा पक्राउ परेकी आमा निरम चौधरीलाई पनि उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । मानसिक अवस्था कमजोर भएका कारण सुत्केरी आमाको समेत उपचार गर्नुपर्ने अवस्था आएपछि परिवारका सदस्य चरम आर्थिक सङ्कटबाट गुज्रिएका हुन । सामाजिक संघ संस्था तथा जनप्रतिनिधिहरूको सहयोगमा बुधवार मात्रै ५५ हजार एक सय २० रुपैयाँ आर्थिक संकलन भएको छ ।
लमही- ७ का वडा अध्यक्ष मोहन गिरी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठुकुरी, पूर्व अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, वडा नं. ४ का वडा अध्यक्ष सुवास न्यौपाने, लमही- ८ का वडा अध्यक्ष उमेश खड्का, समाजसेवी विनोद बुढाथोकी, खगेन्द्र चौधरी, गिरिजादेवी न्यौपानेले पाँच हजार एक सयको दरले सहयोग गरेका छन् । नेपाली कांग्रेस लमही नगरका सभापति सन्तोष बुढाथोकीले पाँच हजार एक सय पाँच रुपैयाँ सहयोग गरेका छन् ।
लमही नगरपालिका- ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले दुई हजार एक सय, रोटरी क्लब अफ लमहीका अध्यक्ष केशव घिमिरेले दुइ हजार एक सय, रवि श्रेष्ठले एक हजार पाँच सय, प्रहरी निरीक्षक शंकर श्रेष्ठले एक हजार पाँच, अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालले एक हजार पाँच सहयोग गरेका छन् ।
शुक्रबार सम्म सहयोग संकलन गरिने, जसका लागी वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको संरक्षकत्वमा लमही- ७ का वडा अध्यक्ष मोहन गिरी र देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको नाममा संयुक्त बैंक खाता खोलिएको छ ।
लमही नगरपालिका- ७ कप्तानगञ्ज निवासी २५ बर्षिया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले कार्तिक ८ गते नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्