दलितविहीन मन्त्रिपरिषद्, न कांग्रेस न एमाले, कसैले पनि बनाएनन दलित समुदायबाट मंत्री

दाङ समाचार
दाङ समाचार ३२ असार २०८१, सोमबार
1 Min Read
Aa

दाङ – आइतबार रातिसम्म मन्त्री बन्ने निश्चित जस्तै रहेका पार्टी सचिव छविलाल विश्वकर्मालाई सोमबार बिहान मन्त्री हुने सूचीबाट ओलीले हटाए । विश्वकर्मा एमालेमा चुनाव जित्ने थोरै सिनियर नेतामध्ये पर्छन् ।

पार्टीका प्रभावशाली नेताहरूले चुनाव हार्दा विश्वकर्माले रुपन्देही–१ बाट जितेका थिए । तर शपथ लिने तयारीमा रहेका विश्वकर्मालाई ओलीले मन्त्री बन्ने सूचीबाट हटाए ।

अर्को सत्ता साझेदार नेपाली कांग्रेसले पनि दलित समुदायका सांसदलाई मन्त्री बनाएन । एमालेमा जस्तै कांग्रेसभित्र पनि सहमहामन्त्री जीवन परियारलाई नै मन्त्री बनाउने निश्चित गरिएको थियो ।

संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले परियारलाई मन्त्री सिफारिस गरेका थिए । कोइरालाकै कोटाबाट मन्त्री बन्ने पक्का भएकाले उनी शपथ लिने तयारीमा थिए । तर अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीबाट हट्यो ।

सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पनि दलित समुदायका सांसद मन्त्री भएनन् । अर्थात् सबै मन्त्रालयले नेतृत्व पाउँदा दलित समुदायबाट एक जना पनि मन्त्री बनेनन् ।

संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले चाहे अब दलित समुदायका सांसद राज्य मन्त्रीसम्म बन्न सक्छन् ।

अर्थात् अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जस्तो मन्त्रिपरिषद् ओलीले बनाएका छन् । जहाँ दलित समुदायका मन्त्री छैनन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्