दाङ – कांग्रेस नेता डा शेखर कोइरालाले आउँदो अधिवेशनमा सभापतिको जिम्मेवारीका लागि तयार रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै कोइरालाले आउँदो १५औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका हुन्।
नेता कोइरालाले भने, ‘अघिल्लोपटक पनि सभापतिको उम्मेदवार थिए। यो पटक पनि छु। हारजित हुन्छ। जिल्ला भ्रमणमा साथीहरूलाई भेट्दै छु। फेरि पनि सभापतिमा उठ्ने विषय स्वाभाविक हो। यसलाई हामीले अन्यथा लिनु हुँदैन।
त्यसैगरी, नेता कोइरालाले आउँदो एक साताभित्र कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी सम्भावना रहेको प्रस्ट्याए। कोइरालाले भने, ‘केन्द्रमा नेताबीच कुराकानी भइरहेकाले एक साताभित्र यहाँको सरकारमा कांग्रेस सहभागी हुने सम्भावना छ।’
राजनीतिक स्थिरताका लागि कांग्रेस–एमालेबीच समीकरण आवश्यक रहेको बताएका उनले अहिलेको गठबन्धनलाई सफल बनाउन भूमिका खेल्ने स्पष्ट पारे। नेता कोइरालाले कांग्रेस एमालेबीचको समीकरणका लागि एक वर्षदेखि कुरा उठाउँदै आएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्