रविको नाममा २ करोड निकासा गरि सहकारीको रकम अपचलन

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – बुटलवको सुप्रिम सहकारी पीडितले प्रहरीमा जाहेरी दिए पनि ठगीको यकिन विवरण प्रहरीले पत्ता लगाउन सकिरहेको थिएन । तर, सर्भर बरामद भएपछि नै सुप्रिमले ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ ठगी गरेको भेटिएको थियो ।

सर्भरमै भेटिएको तथ्यांकका आधारमा रुपन्देही प्रहरीले १ हजार ८ सय ३१ बचतकर्ता ठगिएको भन्दै २८ जनालाई प्रतिवादी बनाउँदै ३ वैशाख २०८१ मा मुद्दा दायर गरेको थियो । सोही सर्भरमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ कर्जा गएको भेटिएको प्रहरी स्रोतले जानकारी दियो ।

‘सर्भर बरामद नहुँदासम्म यो सहकारीमा लामिछानेको नाम जोडिएको देखिएन । जब सर्भर बरामद भयो त्यसपछि उनको नाममा समेत कर्जा गएको भेटिएको हो,’ उच्च प्रहरी स्रोतले भन्यो । लामिछानेको नाममा २ करोडको कर्जा गएको देखिए पनि उनलाई प्रतिवादी बनाइएको थिएन । त्यतिबेला उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए ।

रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर रकम लगेको सर्भर मार्फत भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको उक्त सर्भरको तथ्यांकबाट खुलेको थियो ।

रवि यो सहकारीको सदस्य समेत थिएनन् । ऋण भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने रोशनी गुरुङको नाम उल्लेख छ । त्यसैगरी सूर्यदर्शन सहकारीबाट रविको नाममा १ करोड कर्जा दिएको यसअघि नै खुलेको थियो । चार वटा सर्भरमा ६ वटा सहकारी कारोबार विवरण भेटिए पनि सूर्यदर्शन र सुप्रिम सहकारीको मात्रै मुद्दा दर्ता भएकाले अन्य सहकारीको विवरण भने प्रहरीले गोप्य राखेको छ ।

‘मुद्दा दर्ता नभएका अन्य विवरणमा अहिले कुरा गर्नु राम्रो होइन । तर, सर्भरबाट ६ वटा सहकारीको करिब १० अर्बको कारोबार भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसबारे आईटी र सहकारी विज्ञको सहयोगमा थप अनुसन्धान पनि जारी छ ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्