प्लास्टिकले बेरेको अवस्थामा भेटियो घरभित्र मानव कंकाल

दाङ समाचार
दाङ समाचार १८ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – प्युठानमा मानव कङ्काल भेटिएको छ। माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो। स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए। ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय बताएका छन्। कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ।

मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो। घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ।

सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो।

प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ। त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्