दाङ – लमही कोइलाबास सडक खण्ड अन्तर्गत रहेका घरहरु भत्काउने क्रम शुरु भएको छ । कोइलाबास रोडको मुख्य प्रवेशद्वारामा रहेको घर भत्काउन शुरु गरेको घरधनी बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो । यस अघि सो सडक खण्डमा रहेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आफ्नै घर भत्काएर शुरु गर्नु भएको थियो ।
केहि दिन पछि लमही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवराज न्यौपानेले पनि घर भत्काई सक्नु भएको छ । आफ्नै घर भत्काएर लमही- कोइलाबास सडक फराकिलो गराउन तयार भएको विषयलाई लिएर धेरै जसोले नगर प्रमुख चौधरीको प्रसंसनिय काम भनेर तारिफ पनि गरेका छन ।
सडक डिभिजन कार्यालय दाङले सडक छेउछाउमा बनाइएका संरचना हटाउन भनेर ३५ दिने सूचना निकालेको छ । केहि घरधनीले घरको समेत मुआब्जा पाउनु पर्ने माग राख्दै आएका छन । सडकले ३५ दिन भित्र सडक मिचेर बनाइएका संरचना हटाउन भनेपछि घरधनीहरु उच्च अदालत तुलसीपुर पुगेर उक्त काम तत्काल रोक्न निवेदन दिएका छन ।
लमही कोइलाबास सडकले जुनसुकै समयमा सडक फराकिलो गराउन सक्छ भनेर लमही बजारका धेरैजसो घरधनीले निर्माणाधीन संरचनाका पछाडी वैकल्पिक व्यवस्था गरिसकेको देखिन्छ । लमही नगरपालिका पशु उप-शाखा प्रमुख शिवराज न्यौपानेले दिएको जानकारी अनुसार भोलि भदौ २६ गते बिहान ८ बजे लमही- कोइलाबास सडकमा रहेको पशु सेवा केन्द्रको भवन भत्काईने भएको छ । सो सडकमा रहेको नेपाल टेलिकमले पनि पर्खाल हटाई रहेको छ ।
यता लमही- कोइलाबास सडक मिचेर बनाइएका संरचना हटाउनेमा केहि आशंका समेत पैदा भएको छ । पटक पटक सूचना जारि भयो तर काम नहुँदा यो पटक पनि त्यहि क्रम दोहोरिने होकी भन्ने धेरैले अड्कल काटेका छन ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बहादुर विष्टले मुआब्जा प्राप्त गरेर सडकमा बनाईएका सबै संरचना हटाईने र मुआब्जा नलिएकाहरुको हकमा के कति कारणले मुआब्जा नलिएको भनेर अध्ययन गरिनेछ र त्यस विषयमा के गर्ने भनेर पनि निष्कर्ष निकालिने बताउनु भयो । घरधनीले मुआब्जा पाएर सडकका नाममा कित्ता काट गरेर दिई सकेपछि अब यो वा त्यो बहाना गरेर छुट नपाइने उहाँको भनाई छ । लगत कट्टा गरेको जग्गा भित्र संरचना बनेका सबै भत्काईने छ ।

प्रतिक्रिया दिनुहोस्