बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य गम्भीर हुनु पर्छ – नगर उपप्रमुख योगी

दाङ समाचार
दाङ समाचार २९ भाद्र २०८१, शनिबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रिय बाल दिवस, २०८१ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ ।

लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आज शनिबार ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरेको वक्तृत्व कला कार्यक्रममा बोल्दै नगर उपप्रमुख योगीले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनु भएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ । बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख उपप्रमुख योगीले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित हुनु पर्ने बताउनु भएको छ ।

त्यसैगरी लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेको बताउनु भयो । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै वडा अध्यक्ष चौधरीले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिने बताउनु भएको छ ।

मुलुक संघीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा संघका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने उहाँको भनाई छ । बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको वडा अध्यक्ष चौधरीले बताउनु भयो । यो वर्ष सरकारले राष्ट्रिय बाल दिवस, २८१ ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाएको छ ।

बाल दिवसका अवसरमा वक्तृत्व कला प्रतियोगिता

६० औं राष्ट्रिय बाल दिवसका अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ( आधारभूत विद्यालय तर्फ ) गोरखा मोडेल सेकेण्डरी माध्यामिक विद्यालयकी छात्रा शिल्पा केसी प्रथम, सोहि विद्यालयका छात्र क्रिष्टल पाण्डे दोस्रो, बालाजनता आधारभूत विद्यालयकी आशिका शाही तेस्रो र ज्योतिष्मती विद्यापीठकी छात्रा निरु यादव सान्त्वना भएका थिए ।

त्यस्तै ज्योतिष्मती विद्यापीठका छात्रा ( माध्यामिक विद्यालय तर्फ ) विपिन पन्थी प्रथम, गोरखा मोडेल सेकेण्डरी माध्यामिक विद्यालयकी सपना रिजाल दोस्रो, जइन्द्र बोर्डिंग स्कुलकी प्रेजिना रावत तेस्रो र गोरखा मोडेल सेकेण्डरी माध्यामिक विद्यालयका शिशिर गिरी सान्त्वना भएका छन ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले गर्नु भएको थियो ।

May be an image of 11 people, dais and text

May be an image of 3 people, people smiling, temple and hospital

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्