हाम्रो संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ – उपप्रमुख योगी

दाङ समाचार
दाङ समाचार ३ आश्विन २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नेपालको संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको बताउनुभएको हो ।

“हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, उहाँले भन्नु भयो, “यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”

समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको उपप्रमुख योगीको भनाइ छ ।

नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्नुहुँदै उपप्रमुख योगीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताउनुभएको छ ।

“सामाजिक सद्भाव र सहिष्णुता बिथोल्ने, नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने र राष्ट्रलाई कमजोर बनाउने अवाञ्छित प्रयाससमेत हुन सक्दछ । यस्ता संवेदनशील विषयमा गम्भीर चिन्तन र आत्मसमीक्षा गर्दै विगतका कमीकमजोरीमा सुधार गर्ने तथा आगामी दिनमा नयाँ कार्ययोजनासहित नगरलाई जनताको सपनासँग जोड्ने कार्यमा लाग्न हामी सबैलाई संविधान दिवसले अभिप्रेरित गर्नेछ भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्