दाङ – इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर फरार भएका देवकुमार नेपालीलाई बाग्लुङ पुर्याइएको छ। भारतको दिल्लीबाट पक्राउ परेको उनलाई आइतबार साँझ बाग्लुङ पुर्याइएको हो।
काठमाडौंबाट पोखरासम्म विमानमार्फत ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए। पोखराबाट भने सवारीमा लगिएको हो।
बागलुङको ढोरपाटन नगरपालिकाको मेयरसमेत रहेका नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा उपस्थित गराइनेछ। नेपालीसँगै इमेज सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएको ओमबहादुर दर्जीलाई पनि दिल्लीबाट पक्राउ गरेर बागलुङ ल्याइएको हो।
भारतको दिल्लीबाट पक्राउ परेका नेपाली र दर्जीलाई शनिबार काठमाडौँ ल्याइएको थियो। २०८० माघ १२ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।
सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै बागलुङका १ हजार ५४३ जना बचतकर्ताले सञ्चालक, कर्मचारीसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीमा भने ४०८ जनाले ६५ करोड ५९ लाख ८२ हजार ५९ रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए।
बचतकर्ताको निवेदन परेपछि गत वर्षको वैशाख २८ गते पोखरा महानगरपालिकाको सहकारी शाखामा देवकुमारले बचकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति गरेका थिए। ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमार त्यही वर्ष ५ जेठदेखि भने फरार भएका हुन्। गत मंसिरमा उनले फेसबुकमार्फत घरघडेरी बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए।
सूर्यदर्शन बचत तथा ऋण सहकारीमा शेयर सदस्य रहेका देवकुमारले अध्यक्ष बन्न नपाएपछि छुट्टिएर २०६८ सालमा पोखराको न्युरोडमा इमेज सहकारी स्थापना गरे। त्यसको वर्षदिनमै उनले बाग्लुङमा इमेज सहकारी खोले। बाग्लुङ बजारसँगै गलकोट र बुर्तिबाङमा इमेज सहकारीको शाखा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्