दाङ – टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१० नारायणपुरमा रा ७प ७४६ नम्वरको मोटरसाइकललाई रा १ ख १२९१ नम्वरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका –१९ कुटीचौर निवासी १९ बर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक थापाले टिप्परको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो । प्रहरीका अनुसार मृतको शव प्रतिष्ठानमा राखिएको छ ।
मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका –१७ निवासी २२ बर्षीय दिपक बस्नेत गम्भीर घाइते हुनुभएको छ । घाइतेको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते बस्नेतको दाहिने खुट्टा र बायाँ हातको औलामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक घोराही ११ डोक्रेना निवासी ४० बर्षीय जीतबहादुर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको टिप्परले सोही दिशामा जाँदै गरेको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्