तुलसीपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

दाङ समाचार
दाङ समाचार २१ पुष २०८१, आईतवार
1 Min Read
Aa

दाङ – तुलसीपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पुस १३ गते ती बालिका र एक किशोर तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ फुटबल मैदान अगाडि जंगलमा गएका थिए।

उनीहरू कलिलै उमेरमा प्रेममा रहेको स्रोतको भनाइ छ। उनीहरू जंगल पुगेपछि एकाएक त्यहाँ थप तीन जना किशोर आए र घेरा हाले। उनीहरूले ती बालिकासँगै गएका किशोरलाई बाँधे। र, बालिकालाई केही पर जंगलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

दुई जनाले पालैपालो बलात्कार गरेको तथा अरूले बलात्कारमा सघाएको आरोप उनीहरूमाथि छ। तीन जनालाई नियन्त्रणमा लिए पनि एक जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

बलात्कारमा संलग्न किशोरहरूले बालिकाको फेसबुक मेसेन्जरमा म्यासेज पठाएका थिए। त्यो देखेपछि बालिकाकी आमाले छोरी बनेर उनीहरूसँग कुरा गर्दै गर्दा छोरीमाथि भएको अत्याचार खुलेको थियो। त्यसपछि बालिकाले प्रहरीमा उजुरी दिएकी हुन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्