दाङ – एमबीबीएस अध्ययनका लागि नाम निकालिदिने भन्दै ठगी आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहीबार अदालतले पोखरेलसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेलसँग ५ लाख रुपैयाँ धरौटी माग गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएसँगै पोखरेल रकम बुझाएर छुटेका हुन्।
पुष २५ गते पक्राउ परेका पोखरेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता गरेको थियो। सूचना अधिकारी बुढाथोकीका अनुसार अदालतले पोखरेलसँग बिहीबार दिउँसो बयान लिएको थियो।
बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएसँगै अदालतले उनलाई धरौटी लिएर छाड्न आदेश दिएको हो।
पोखरेलमाथि सप्तरीको कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्