दाङ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा रहिरहन आफूहरुलाई नैतिक संकट आएको बताएका छन् ।
बिहीबार सर्लाहीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले लोसपाले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेकोले सरकारमा रहन नैतिक संकट आएको बताएका हुन् ।
लोसपाका तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । अध्यक्ष ठाकुरले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई पनि सरकारबाट बाहिरिनु पर्ने अवस्था आउन सक्नेबारे जानकारी गराइसकेको बताए ।
‘नैतिक संकट त आयो । नैतिक संकट त अब हामीहरुमाथि पनि आइसक्यो । केवल सरकारमाथि मात्रै आयो भन्ने कुरा होइन । हाम्रा लागि संकट यो छ कि, हामी सरकारमा थियौँ, सरकारमा अहिलेसम्म छौँ । तर, हामीले सरकारको विरोध गर्यौँ,’ उनले भने, ‘हाम्रा मन्त्रीलाई त हामीले भनिसकेका छौँ, तपाईंलाई एकाध दिनमा जे गर्ने हो गरिहाल्नू ।’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारबाट बाहिरिए प्रधानमन्त्री केपी ओली नेतृत्वको गठबन्धन सरकारले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । लोसपाका तर्फबाट सरकारमा एक जनामन्त्री छन् भने प्रतिनिधिसभामा चार सिट छन् । देश सञ्चार

प्रतिक्रिया दिनुहोस्