दाङ – देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयको १७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा आज फाल्गुन ७ गतेका दिन सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा चौधरीले शिक्षा क्षेत्रलाई समृद्ध बनाउन प्रदेश सरकारले पनि नयाँ ढंगले योजना बनाईरहेकोले शिक्षक, अभिभावक र बिद्यार्थीहरुको त्रिपक्षिय समन्वय सहकार्यले मात्र विद्यालयको शैक्षिक उन्नयन गर्न सकिने बताएकी छिन् ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप, संस्कार संस्कृतिका ब्यवहारीक ज्ञान दिनुपर्ने आजको आवश्यकता भएको भन्दै देउखुरी पब्लिक माबिले नयाँ ढंगले शैक्षिक समृद्धिमा फड्को मार्न सकोस भन्दै बिद्यालयको शैक्षिक र भौतिक उन्नयनको कामना व्यक्त गरिन् । छोटो समयमा यस विद्यालयले गरेको शैक्षिक र भौतिक प्रगतिको समेत उनले प्रशंसा समेत गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीले ड्रोन उडाएर तथा विद्यालयको ताम्रपत्र अनावरण गरेर बार्षिकोत्सव तथा विद्यालय भवनको उद्घाटन समेत गरिन् । कार्यक्रममा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रामप्रसाद गैरेले शिक्षा क्षेत्रलाई समृद्ध बनाउन र बिद्यार्थीहरुलाई सकारात्मक संस्कार सिकाउन अभिभावकहरुको प्रमुख दायित्व रहेको औंल्याए ।
सो अवसरमा विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम बिद्यालयका प्रबन्धक तथा प्रिन्सीपल भुमाण्डब केसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले मौलिक लोककला प्रदर्शन गरेको थियो भने विद्यालयका विद्यार्थीहरुले विभिन्न भेषभुषा झल्कीने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले अतिरिक्त कृयाकलाप तथा तेक्वान्दो खेल समेत प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक मोहनलाल घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक सन्दिप खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्