दाङ – हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ । इसराइली सञ्चारमाध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ । शनिबार बन्धकमुक्त ६ जना नै पुरूष छन् ।
३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन् । उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ ।
त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो । बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसराइलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो । उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो। चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ ।
हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ । हमासले यसअघि २६ जना बन्धक छाडिसकेको छ भने इसराइलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ । बिहीबार हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो। तर चार जनामध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो।
यसले युद्धविराममा फेरि तनाव उत्पन्न गराएको थियो । इसराइली अधिकारीहरूले जसको भनिएको हो उसकै शव पठाउन हमासलाई चेतावनी दिएको छ।
पहिलो चरणको युद्धविराम अन्तर्गत बन्धक मुक्त गर्ने भनिएको ३३ मध्ये अब तीन जना मात्रै बाँकी रहनेछन्। इसराइलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता थियो। पहिलो चरणको युद्धविरामको बीचमा दोस्रो चरणको युद्धविराम गर्न मध्यस्तकर्ताहरूले छलफल गर्ने भनिएको थियो । माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस्