दाङ -जिल्लामा रहेका ठूला सिमेन्ट उद्योगहरूले समयमा विद्युत महशुल तिर्न आलटाल गर्दै आएको पाइएको छ । लमही वितरण केन्द्रका प्रमुख इञ्जिनिएर युवराज रावतले दिएको जानकारी अनुशार लमही नगरपालिका-७ स्थित रहेको सम्राट सिमेन्ट कम्पनीले हालसम्म ३७ करोड ८४ लाख रुपैयाँभन्दा बढी विद्युत महशुल बुझाउन बाँकी रहेको छ । तर सो रकम कम्पनीले तिर्नमा आलटाल गर्दै आएको कार्यालय प्रमुख रावतको भनाई छ ।
त्यसैगरी घोराही सिमेन्ट उद्योगको मात्र बक्यौता एक अर्ब ४८ करोड १३ लाख रुपैयाँ पुगेको छ । सोनापुर सिमेन्ट उद्योगले ६२ करोड २५ लाख रुपैयाँभन्दा बढी महशुल तिर्न बाँकी छ ।
लोडसेडिङका समयमा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाइनमार्फत सिमेन्ट उद्योगहरूलाई विद्युत आपूर्ति गरेको थियो । तर, महशुल नतिर्ने प्रवृत्तिले अहिले प्राधिकरणलाई ठूलो आर्थिक संकटमा पार्ने खतरा बढेको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन नियमावली, २०७८ अनुसार, मिटर रिडिङ गरेको ६० दिनसम्म महशुल नबुझाए जुनसुकै बेला पनि विद्युत सेवा काट्न सकिन्छ । तर, सिमेन्ट उद्योगहरूलाई भने बारम्बार सूचना दिँदा पनि कुनै ठोस कदम चालिएको छैन ।
स्थानीय उपभोक्ताहरू समयमै महशुल बुझाउने अवस्थामा पनि सिमेन्ट उद्योगहरूको अटेरीलाई नजरअन्दाज गर्नु अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ । प्राधिकरणले अब कडाइ नगरे अझै बक्यौता रकम थपिने सम्भावना छ ।
नेपाल विद्युत प्राधिकरणको तीनवटै वितरण केन्द्रका अनुसार जिल्लाका अन्य ग्राहकहरूको जम्मा १७ करोड ८९ लाख ४७ हजार रुपैयाँ बाँकी रहँदा, तीन ठूला सिमेन्ट उद्योगहरूको मात्र बक्यौता दुई अर्ब ४८ करोड २३ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्