भारतबाट फर्किएका युवकको कैलालीमा मृत्यु, सँगै आएका ३ जना पक्राउ

दाङ समाचार
दाङ समाचार २९ जेष्ठ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं –  भारतबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । मुम्बईबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ । शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी गरेको ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन् ।

मृतकका आफन्त रवीन्द्र शाहले भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने बताए ।

‘उनीहरु काम गर्ने घरबाट नगद र गरगहना चोरी भएको भन्ने कुरा आएको छ । सीसीटीभी फुटेज हेर्दा बाहिरबाट खाली हात भित्र प्रवेश गरेका उनीहरुले सामान बोकेर बाहिर आएको दृष्य छ,’ शाहले अनलाइनखबरसँग भने, ‘त्यहाँ भएका हाम्रा दाजुभाइहरु फुटेज लिएर घर फर्किदै हुनुहुन्छ ।

’ रवीन्द्रका अनुसार भारतबाट फर्किएका धनबहादुरसहित चार जना २६ जेठमा धनगढी बसपार्कस्थित होटलमा बसेका थिए । धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै माया मेट्रो अस्पतालमा लगेका र अस्पतालले उनलाई मृत घोषणा गरेको आफन्त रवीन्द्रले बताए । घटनाबारे आफूहरुलाई ढिलो खबर गर्नुले पनि आशंका भएको उनी बताउँछन् ।

‘बेहोस भएपछि मृतकसँगै रहेका खडकबहादुर शाह र कृष्णबहादुर शाह कैलालीको खानीडाँडाबाट धनगढी फर्किएको देखिन्छ भने पदम साउद भन्ने व्यक्तिले झोला लिएर अछामतर्फ गएका रहेछन्’, उनले भने । जिल्ला प्रहरी कार्यालयले शव परीक्षणपछि मात्र किटानी जाहेरी दर्ता गर्न सकिने बताएपछि मृतक परिवारले जाहेरी दर्ताअघि परीक्षण गर्न नदिने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्