कांग्रेसलाई चारैतिरबाट भइरहेको प्रहार लोकतन्त्रका लागि खतरा हो : सहमहामन्त्री चौधरी

दाङ समाचार
दाङ समाचार २२ कार्तिक २०८३, शनिबार
3 Min Read
Aa

दाङ -नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाली कांग्रेसमाथि चारैतिरबाट भइरहेको प्रहार लोकतन्त्रका लागि नै खतरा भएको बताउनुभएको छ । उहाँले पार्टी सभापति गगन थापालाई बदनाम गराउने उद्देश्यले केही देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै यस्ता गतिविधिबाट पार्टीका नेता तथा कार्यकर्ता विचलित हुन नहुनेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङ, प्रदेशसभा क्षेत्र (ख) द्वारा आयोजित शुभकामना आदानप्रदान, पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसमाथि भइरहेको घेराबन्दी र विभिन्न प्रकारका प्रहारलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै पार्टीको नेतृत्व र संगठनलाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभयो । पार्टी सभापति गगन थापालाई लक्षित गरी भइरहेको प्रचार तथा बदनाम गराउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उहाँले नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा उभिन आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र (ख) का सभापति लालवीर खड्काको सभापतित्व रहेको थियो । सो अवसरमा निर्वाचन अधिकृत अर्जुन कुमार अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई औपचारिक रूपमा गोपनीयताको शपथसमेत ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू किरण किशोर घिमिरे र कमल किशोर घिमिरे, निवर्तमान केन्द्रीय सदस्य प्रदीपराज शर्मा, जिल्ला सभापति शंकर डाँगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि लोका विश्वकर्मा, नेपाली कांग्रेस दाङ १ का सभापति दिनेश गिरी, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, गिरिजादेवी न्यौपाने, नेपाली कांग्रेस प्रदेश क का सभापति किरण पौडेल, लमही नगर सभापति सन्तोष बुढाथोकी, राजापुर गाउँपालिका सभापति राम प्रताप यादव, थारु कल्याणकारिणीका गोकुल चौधरी, कांग्रेस युवा नेता कुमार घिमिरे र घोराही -३ का वडा सभापति शरद बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि लक्ष्मी योगी, जिल्ला सचिवहरू अर्जुनकुमार योगी र बालिका लम्साल, शेषदत्त चौधरी, शिवा चौधरीको उपस्थिति रहेको थियो ।

कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरणसँगै संगठनलाई थप गतिशील बनाउने र पार्टीभित्र आपसी एकता तथा सहकार्यलाई बलियो बनाउने सन्देश दिएको छ । प्रदेशसभा क्षेत्र (ख) का उपसभापति विष्णुमणि दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रदेशसभा क्षेत्र (ख) का सचिव हल्लुप्रसाद चौधरीले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्