काठमाडौं – सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन् ।
उनले भनिन्, ‘चट्याङ, बाढी पहिराले देशमा धेरै भू–भागमा धनजनको क्षति पुर्याइरहेको छ, सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन ।
’ सांसद भूपेन्द्रबहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदा-पाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गरिन् ।
सांसद राजेन्द्रकुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेका गुनासो गरे । सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने कुरा सरकारलाई जानकारी भएपनि प्रत्येक पटक मल पाउन मन्त्री नै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।
सांसद मीना सुब्बाले कृषकले माना रोपेर मुरी उब्जाउने बेलामा समयमा मल नपाउने कारणले गर्दा मारमा पर्ने गरेको हुँदा समयमै किसानलाई मलको व्यवस्थापन गर्नु पर्ने बताइन् ।
सांसद राजेन्द्रप्रसाद लिङ्देन र महेन्द्रकुमारी लिम्बूले झापा कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरेर राखेको जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले सरकारले डिजेल र पट्रोलको मूल्य , निर्माण क्षेत्रमा २५ प्रतिशत सामग्री मूल्य बृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।
मीनबहादुर विश्वकर्माले यही जेठ २० गते ललितपुरमा गुरुकूलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीले पढ्न नदिएको र सामाजिकरूपमा छुवाछूत फैलाउने गुरुकूलका प्राचार्य तेजप्रसाद भट्टराई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रंगमती शाहीले अवैधरूपमा नेपालीलाई खाडी मुलुक र अन्य मुलुकमा समेत मानव तस्करी हुने गरेकोप्रति अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराउइन् । सांसद रेनुका गुरुङले सांसदले खानेपानी खान पाउनुपर्ने र जुनसुकै स्थानमा पनि जानका लागि रोक लगाउन नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्