रुससँगकाे लडाइँमा दैनिक १०० देखि २०० युक्रेनी सैनिक मारिने जेलेन्स्कीका सहयोगीकाे दाबी

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले हरेक दिन करिब १०० देखि २०० युक्रेनी सैनिक मारिने गरेको दाबी गरेका छन । उनले बिबिसीसँगकाे कुराकानीमा यस्ताे दाबी गरेका हुन्।

यो संख्या अघिल्लो अनुमानभन्दा बढी हो । बिहीबार युक्रेनका रक्षामन्त्रीले युक्रेनले हरेक दिन आफ्ना १०० सैनिक गुमाउने गरेकाे बताएका थिए । मिखाइलो पोडोलियाकले पूर्वी डोनबासमा चलिरहेको युद्धमा रुससँग बराबरी गर्नका लागि युक्रेनलाई सयौँ पश्चिमी बन्दुकको आवश्यकता रहेको बताए । उनले किभ मस्कोसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार नभएको पनि बताए ।

युक्रेनी सेनाले लगातार गोलीबारी र बम आक्रमणको सामना गरिरहेको छ। डोनबास युक्रेनको क्षेत्र हो- जहाँ भीषण युद्ध चलिरहेको छ। रुसी सेना सम्पूर्ण डाेनबास नियन्त्रण गर्न कोशिस गर्दैछ । पोडोलियाकले भने, ‘रुसी सेनाले यस युद्धमा परमाणु बमबाहेक सबै हतियार प्रयोग गरेको छ। चाहे त्यो ताेप होस्, रकेट हमला होस् वा हवाई हमला होस्।’

युक्रेनले लगातार पश्चिमी देशहरूसँग हतियारको माग गर्दै आएको छ । सोही माग दोहोर्‍याउँदै पोडोलियाकले रुस र युक्रेनसँगको सेना र हतियारको असमानता नै युक्रेनलाई हुने क्षतिको मुख्य कारण भएको बताए । रुसी सेनाहरू फेब्रुअरी २४ मा आक्रमण सुरु हुनुअघि भएको ठाउँमा नफर्केसम्म युक्रेन शान्ति वार्ताको टेबलमा नआउने उनकाे भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्