राप्ती नदीमा विपद् प्रतिकार्य पूर्वाभ्यास

दाङ समाचार
दाङ समाचार ६ असार २०७९, सोमबार
1 Min Read
Aa

दाङ – मनसुन सुरु भएसँगै बाढीबाट हुन सक्ने मानवीय क्षति नियन्त्रणका लागि बाँकेको राप्ती नदीमा विपद् प्रतिकार्य पूर्वाभ्यास गरिएको छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन, रेडक्रसलगायतको संयुक्त आयोजनामा राप्ती नदीको सिधनियाघाटमा बाढीमा गरिने उद्धारको पूर्वाभ्यास गरिएको हो।

त्यसक्रममा बाढीले बगाएका मानिसको उद्धार तथा खोज खोजतलासको अभ्यास गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागितामा उक्त पूर्वाभ्यास गरिएको हो।

कार्यक्रममा लुम्बिनीका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा, प्रदेश सांसद कृष्णा केसी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपाली सेनाको श्री नं. ४ बाहिनीका बाहिनीपति उत्तम विष्टलगायतको उपस्थिति थियो। मन्त्री शर्माले यस्ता अभ्यासले काममा सहजता ल्याउने बताए।

प्रमुख जिल्ला अधिकारी खत्रीले बाढीमा परेका व्यक्तिको उद्धार र धनजनको क्षति रोक्नका लागि तीनवटै सुरक्षा निकायले राम्रो अभ्यास गरेको बताए। बाँकेको सिधनियाघाटमा वर्षेनी यस प्रकारको पूर्वाभ्यास गरिन्छ।

बाँकेमा वर्षेनी नै डुवान, कटान र पटान हुने गर्दछ। राप्ती नदीमा भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँधले पानीको प्राकृतिक बहाव रोकिदिँदा नदीको तटीय क्षेत्रका बासिन्दा डुवानमा पर्ने गर्दछन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्