कपिलवस्तुमा त्रिभुवन आदर्श माविले कक्षा ८ को परीक्षा नतिजा अझै सार्वजनिक गरेन

दाङ समाचार
दाङ समाचार १० असार २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – कपिलवस्तुको शिवराज नगरपालिकाले पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन ।

शैक्षिक सत्र शुरु भएको डेढ महिना बित्न लाग्दा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरेपछि विद्यार्थीहरुले गत हप्ता नतिजा सार्वजनिक गर्न माग गर्दै विद्यालयको गेटमा ताला लगाएका थिए ।

बालविकासदेखि कक्षा १२ सम्म रहेको उक्त विद्यालयमा कक्षा ८ मा मात्र ७६ जना विद्यार्थी छन् । परीक्षणको क्रममा अधिकांश विद्यार्थीको नतिजा ३५ प्रतिशतभन्दा कम ल्याएको देखिएपछि केही ढिलाइ भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने ‘अन्य सबै विद्यालयको नतिजा सार्वजनिक भईसक्यो तर यो विद्यालयमा भने समस्या देखियो । अधिकांश विद्यार्थीको प्राप्ताङ्क गरेको नतिजा हेर्दा नौ कक्षा चल्ने अवस्था नै छैन ।

’ सबै विद्यार्थी फेल हुने अवस्था देखिएपछि कसरी जाने भन्ने अलमलले ढिलो भएको उनको भनाइ छ । सरकारले गत शैक्षिक सत्रदेखि अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको भन्दै विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था लागू गरेको हो ।

उक्त व्यवस्था अनुसार विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले नन ग्रेड प्रमाणपत्र पाउनेछन् ।

कक्षा १० र माध्यमिक तहको अन्तिम परीक्षामा नन ग्रेड प्राप्त विद्यार्थीले माथिल्लो तह वा कक्षामा अध्ययनको अवसर नपाउने व्यवस्था गरिएको छ । नगरपालिकाभित्र पूरा दरबन्दी भएको विद्यालय मध्ये त्रिभुवन आदर्श मावि एक हुँदाहुँदै पनि विद्यार्थीको नतिजाले भने विद्यालयको शैक्षिक गुणस्तरमा समस्या देखाएको छ ।

पाठ्यक्रमले आधारभूत तहको अन्तिम परीक्षा स्थानीय तहले सञ्चालन, परीक्षण गर्ने जिम्मेवारी तोकेको छ । सोही अनुसार नगरपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन, परीक्षण गरेको थियो ।

तर, नतिजा सार्वजनिक गर्ने क्रममा भने अधिकांश विद्यार्थीको नतिजा ३५ प्रतिशत भन्दा कम देखिएपछि नतिजा सार्वजनिक गर्न ढिलाई भएको शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले बताए ।

उनले भने ‘परीक्षा समितिसँग छलफलपछि कक्षा नौ को शैक्षिक गुणस्तर कायम राख्न मिल्नेगरी विद्यार्थीलाई ग्रेस मार्क थपेर नतिजा सार्वजनिक गर्ने तयारीमा छौं । आज अथवा भोलि सार्वजनिक हुन्छ ।’ पालिकाले चैत २८ गतेदेखि बैशाख ७ सम्म परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्