सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

दाङ समाचार
दाङ समाचार १६ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७-८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।

रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो।

रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ । स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्याउन राज्यले नसकेको समेत बताए ।

‘अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्’ मन्त्री खापुङले भने, ‘देशभर समतामूलक सेवा पुर्याउन आवश्यक छ भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ ।’ कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए ।

उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी क्षेत्रमा जानै पर्नेमा जोड दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताए ।  उनले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बताए ।’ धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन्।’ प्रमुख विषेशज्ञ यादवले भने, ‘निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउनुपर्दछ ।’

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यवसायीकताको प्रवर्द्धन गर्नका लागि रणनीति ल्याइएको बताए। महाशाखाका अस्पताल नर्सिङ प्रशासकवाला राईले स्वास्थ्य सेवाको गुणस्तर, सबैका पहुँच पुर्याउनका लागि रणनीति ल्याइएको बताए।

प्रतिक्रिया दिनुहोस्