अब हवाई इन्धन ल्याउन भारतको बरौनी पुग्नुपर्ने

दाङ समाचार
दाङ समाचार १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – सुरक्षाको कारण देखाउँदै भारतले नेपाललाई हवाई इन्धन बिक्री गर्ने रक्सौल डिपो बन्द गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) को यस्तो निर्णय पछि अब नेपालले हवाई इन्धन आपूर्तिका लागि बरौनी पुग्नुपर्ने भएको छ, जुन रक्सौल भन्दा ५०० किलोमिटर टाढाको दुरीमा छ ।

भारतले नेपाललाई जानकारी गराएर रक्सौल डिपो बन्द गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । नेपालले डिजेल पाइपलाइनबाट ल्याउन थालेपछि भारतले उक्त डिपो बन्द गर्ने प्रक्रिया अघि बढाएको र यसअघि नै पेट्रोल र मट्टितेल बरौनीबाटै ल्याउन थालिएको उपाध्ययले जानकारी दिए ।

‘अब हवाई इन्धन लिन काठमाडौंदेखि एक हजार किलोमिटर पर जानुपर्छ,’ उपाध्ययले भने, ‘आपूर्तिमा कुनै समस्या छैन । बरौनी पुग्दा दुरी दोब्बरले बढ्छ र यसले ढुवानी भाडा पनि बढाउँछ ।’ आयल निगमकाअनुसार नेपालमा दैनिक ४ लाख किलोलिटर हवाई इन्धन खपत हुन्छ ।

यसअघि रक्सौल काठमाडौं दुरी ५ सय किलोमिटर हुँदा प्रतिलिटर ढुवानी भाडा ३ रुपैयाँ ५० पैसा रहेको र अब बरौनी–काठमाडौं दुरी एक हजार किलोमिटर हुँदा भाडा दोब्बर हुने निगमले जनाएको छ । रक्सौलबाट ३० किलोमिटर वर मोतिहारीमा भारतीय आयल निगमले टर्मिनल बनाउँदै गरेकाले हवाई इन्धनमा त्यहींबाट सहजीकरण गर्न छलफल भइरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्