काठमाण्डौ – एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई पक्राउ गर्न माग गरेको छ।
दक्षिण एसियाली देश श्रीलंकाको लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आइटिजेपी) ले माग गरेको हो।
श्रीलंकामा राजापाक्षेको शासनकालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आइटिजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यलयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो।
सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको उक्त समूहले आरोप लगाएको छ।
गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए।
प्रदर्शनकारी प्रवेश गर्नअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए। लगत्तै उनी माल्दिभ्स पुगेका थिए भने माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए। सिंगापुरबाटै उनले राजीनामा दिएका थिए।
उनको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन्। राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगीकार गरेको विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्