राष्ट्रपत्नी भनेको भन्दै भारतीय संसदमा विरोध

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – भारतको पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा विरोध भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा कांग्रेसले माफी माग्नु पर्ने भन्दै संसद (लोकसभा)मा विरोध जनाएका हुन् । चौधरीको टिप्पणीलाई लिएर विजेपी सांसदले होहल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।

संघीय मन्त्री स्मृति इरानीले कांग्रेसले मुर्मूप्रति घृणा र उपहास गर्ने गरेको आरोप लगाइन् । ‘राष्ट्रपतिको उम्मेदवारका रुपमा दौपदी मुर्मूको नाम घोषित भएदेखि नै उहाँ कांग्रेसको घृणा र उपहारको शिकार बन्नुभएको छ,’ इरानीले संसदमा भनिन्, ‘कांग्रेस पार्टीले उहाँलाई कठपुतली भन्यो ।’

एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको कांग्रेसले स्वीकार्न नसकेको उनको आरोप छ ।

चौधरीले जिब्रो चिप्लिएर राष्ट्रपत्नी शब्द उच्चारण भएको भन्दै सफाइ दिएका थिए । ‘दुई दिन अघि जब हामी विजय चोकतिर जाँदै थियौं, हामीले कहाँ जाँदै हुनुहुन्छ भनेर सोधियो, मैले राष्ट्रपति भवन जान चाहेको र राष्ट्रपतिलाई भेट्न चाहेको बताउन खोजेको थिएँ, तर गल्तीले मुखबाट राष्ट्रपत्नी शब्द निस्कियो ।’

सत्ताधारी दलले तीललाई पहाड बनाएको चौधरीको आरोप छ । उनले भने, ‘मलाई थाहा छ भारतको राष्ट्रपति जो भए पनि हाम्रा लागि राष्ट्रपति नै हो, यो शब्द (राष्ट्रपत्नी) एक पटक मुखबाट निस्कियो, सत्ताधारी दलका केहीले तीललाई पहाड बनाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्