अर्जेन्टिनी उपराष्ट्रपतिको हत्या प्रयास, आक्रमणकारी पक्राउ

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् । सोही क्रममा एक अज्ञात व्यक्तिले बन्दुक प्रहार गर्न खोजेको देखिन्छ ।

नजिक भएका मानिसहरूले बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ । बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक देखाएको जनाएको छ ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् । उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् ।

उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् । अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

‘आक्रमणकारीले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक राखेका थिए । घटनाका क्रममा अराजकता भएको थियो,’ उनले भने, ‘संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनका सुरक्षा गार्डहरू सक्रिय भए ।

’ स्थानीय सञ्चार माध्यमहरूका अनुसार आफूलाई ब्राजिलियन भनेर चिनाउने एक युवकलाई प्रकाउ गरेको प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

बिहीबार राति राष्ट्रलाई सम्बोधन गर्दै फर्नान्डेजले आक्रमणकारीको निन्दा गरे र सन् १९८३ मा लोकतन्त्र फर्किएपछि कै सबैभन्दा गम्भीर घटनाको रूपमा यसलाई चित्रित गरे ।

‘हामी असहमत हुन सक्छौं, हामीसँग गहिरो असहमति हुन सक्छ, तर ‘हेट स्पीच’ दिनु हुँदैन किनभने यसले हिंसालाई जन्म दिन्छ र लोकतन्त्रसँग हिंसाको कुनै सम्भावना छैन,’ फर्नान्डेजले भने ।

उनले अर्जेन्टिनीहरूलाई ‘जीवन, लोकतन्त्रको रक्षा र हाम्रा उपराष्ट्रपतिसँग ऐक्यबद्धतामा व्यक्त गर्न’ समय दिनको लागि शुक्रबार राष्ट्रिय बिदाको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्