काठमाडौं – प्रहरी वृत्त, स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएका छन् ।
प्रहरी उपरीक्षक (एसपी) बढुवाको रस्साकस्सी चलिरहेको बेला केन्द्रीय कारागार, सुन्धारामा गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई भेटेको आरोप लागेपछि उनी रानीपोखरी तानिएका हुन् ।
उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार गत आइतबार डीएसपी केसी अमृत केसी नामका व्यक्तिसँग केन्द्रीय कारागार गएर सिंहलाई भेटेको भन्ने सूचना प्राप्त भएको थियो ।
अमृत अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । ‘त्यही विषयमा छानविन गरेर उनलाई यहाँ तानेर अनुसन्धान थालिएको छ’ धानुकले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रहरी परिसर, काठमाडौंले केसीमाथि छानविनका लागि समिति बनाएको छ ।
’ काठमाडौं प्रहरीका अनुसार घटनाबारे छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा डीएसपी हरि बस्नेत र एकजना प्रहरी सहायक निरीक्षक (असई) सदस्य रहेको समिति बनाइएको छ । समितिलाई यथाशीघ्र छानविन गरेर घटनाबारे यथार्थ विवरण बुझाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्