हङकङसँग हार्‍यो नेपाल, सेमिफाइनलमा युएईसँग भेट

दाङ समाचार
दाङ समाचार ७ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं – एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो । हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् ।

अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट भइन् । ओपनर मेरिको हिल स्पिनर संगिता राईको बलमा ममता चौधरीबाट क्याच आउट भइन् ।

तेस्रो क्रममा आएकी नताशा माइल्स २८ रनमा र पाँचौं क्रममा आएकी सानेज सहजाद ४ रनमा अविजित रहे । चौथो क्रममा क्लेरी च्यान १७ रनमा संगिता राईबाट बोल्ड आउट भइन् ।

नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिइन् । यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाइन् । विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाइन् । नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा नेपाललाई १०० रनको लक्ष्य गर्न पनि निकै कष्ट भएको थियो ।

खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिइन् ।

मरियम बीबी र एलिशा हर्बडले समान १÷१ विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ । समूह ‘ए’ को विजेता युएई नेपालको लागि बलियो प्रतिस्पर्धी हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्