सामाजिक कार्यमा अगाडी बढ्दैँ औषधि व्यवसायी संघ दाङ

दाङ समाचार
दाङ समाचार १२ असार २०७९, आईतवार
3 Min Read
Aa

दाङ– नेपाल औषधि व्यवासायी संघ दाङले सामाजिक कार्यलाई निरन्तरता दिइरहेको छ ।

(कोभिड १९) को संक्रमण अगाडी देखिनै संघले विशेषगरि आफ्नो स्वास्थ्य क्षेत्रमा रहि सामाजिक कार्य गर्दै आइरहेको थियो । पछिल्लो समय यता संघका सम्पूर्ण पदाधिकारीहरु मिलेर सामाजिक कार्यलाई झनै अगाडी बढाइएको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेलले बताए ।

संघले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बृहत् रुपमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । केही दिन अगाडि मात्रै पश्चिम दाङको हापुरेमा पनि बृहत् रुपमै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको थियो । औषधि व्यवसायी संघ समाजमा सकारात्मक संदेश फैलाउन र सामाजिक विकृतिलाई विस्थापित गर्न एक अभियान नै लिएर अगाडी बढिरहेको छ ।

समाजमा राम्रो काम गरि आफनो छाप छोडने उद्देश्य बोकि अगाडी बढेको संघका अध्यक्ष पौडेलको भनाई छ । उनले संघको प्रगतिको कामना गर्दै, औषधि व्यवासायी संघलाई अगाडी बढाउन सबै एकजुट भई लाग्न आवश्यक रहेको बताए ।

नेपाल औषधि व्यवसायी संघको परिवारले जिल्लामा रहेको वृद्ध आश्रममा रहेका आमाहरुसंग पनि खुशी साटेका छन । संघको ४९ औँ स्थापना दिवसको अवसरमा संघका परिवरले वृद्ध आश्रममा रहेका आमाहरुबाट आर्शिवाद पाउँदा खुशी लागेको संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।

नेपाल औषधी व्यवसायी संघको ४९ औँ स्थापना दिवसको अवसरमा संघले विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गरेर मनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको मानव कल्याण समाज घरमा पुगेर विभिन्न प्रकारका मानसिक रोगी, असाहय बालबालिका लगायतको चेकजाँच तथा निःशुल्क औषधि वितरण गरिएको छ ।

उनका अनुसार डाक्टर मनिषकुमार शाहद्धारा ३६ जना असाहय तथा मानसिक रोगका विरामीहरुलाई स्वास्थ्य चेकजाँच गरि निःशुल्क औषधि वितरण गरिएको छ । संघले स्थापना दिवसको अवसरमा ३६ जना विरामीहरुलाई करिब चालिस हजार बराबरको औषधि निःशुल्क वितरण गरेको हो ।

त्यसैगरी नेपाल औषधि व्यवसायी संघले घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको वृद्धश्रामलाई ३५ हजार बराबरको औषधि सहयोग प्रदान गरेको छ भने १८ जना वृद्धवृद्धा, असहायहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरि औषधि वितरण गरेको छ ।

कार्यक्रममा संघका सचिव सुनिल रेग्मीले औषधि व्यवासायी संघको उद्देश्य पुरा गर्न सबैको सहयोगको अपेक्षा राखेको बताए । उनले गरिब तथा विपन्न परिवारको उपचारमा सहयोग गर्ने, लागु औषध न्युनिकरण गर्ने, विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने यस संघको मुख्य उद्देश्य रहेकाले सबै संघ संस्थालाई आवश्यक सहयोग समन्वयको अपेक्षा राखेको छ ।

उक्त कार्यक्रममा संघका पदाधिकारीहरुले औषधि व्यवसायी संघको उद्देश्य पुरा गर्न संस्थाको प्रगतिका लागि आवश्यक सहयोग गर्दै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए । साथै घोराही र तुलसीपुरमा रहेको नेपाल औषधि व्यवसायी संघको कार्यालयमा दिपप्रज्वलन समेत गरिएको थियो ।

नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा भएको कार्यक्रममा मानवकल्याण समाज सेवा घरका केन्द्रिय संयोजक रोसन ढकालले कार्यक्रम बारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव सुनिल रेग्मीले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्