काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले आफ्नो विवाह वार्षिकोत्सवमा कार्यकर्तालाई खुट्टा ढोगाएको भिडियो सार्वजनिक भएको छ ।
शनिबार बेलुकाको कार्यक्रमको भिडियोमा माओवादीका कार्यकर्ताले नेता मण्डलको खुट्टा ढोगेको देखिन्छ । तर मण्डलले ती कार्यकर्तालाई रोक्ने कोसिससमेत नगरी खुट्टा ढोग्न दिएको देखिन्छ ।
वैवाहिक वर्षगाठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं. १ स्थित मण्डलको घर पुगेका थिए ।
केक काटेपछि कार्यकर्ताहरुलाई उनले टीका लगाइदिन्छन् । टीका थापेका कार्यकर्ता देवा यादवले मण्डलको खुट्टा ढोग्छन् । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन् ।
सामाजिक सञ्जालमा कार्यकर्तालाई खुट्टा ढोगाएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ । तर मण्डल भने यो आफूहरुको पारिवारिक संस्कार भएको बताए ।
कार्यकर्ताले अग्रज भएका कारण खुट्टा ढोगेको उनको दाबी छ । ‘आफूभन्दा जेठोलाई ढोग्ने हाम्रो परम्परा छ,’ उनले भने, ‘कार्यकर्ताको रूपमा होइन, आर्शिवादका लागि खुट्टा ढोगेजस्तो गरेका हुन्, म पनि अग्रजलाई ढोग्छु ।’ उनले यसलाई आलोचनाको विषय बनाउन नहुनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्