अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा

दाङ समाचार
दाङ समाचार १९ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि दोहोर्याएर शपथ लिनु परेको छ ।

सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् । शपथ लिने स्थानसम्म पुग्दा उनले दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी थिइन् ।

शपथ लिने क्रममा उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।

’ उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकिन् र शपथको व्यहोरामा लेखिएका शब्दमात्र बाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले दोहोर्याएर शपथ लिनु परेको थियो ।

शपथ लिइसकेपछि उनले संसदमा मुठ्ठी उठाएको आफ्नो फोटो राख्दै ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ लेखेर ट्वीट गरेकी छन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् ।

हाल अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार छ । एन्थोनी अल्बानेजी प्रधानमन्त्री पदमा छन् । ९६ वर्षीया रानी एलिजाबेथ अष्ट्रेलिया राज्यको प्रमुख हुन्छिन् । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ ।

अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश थियो । यस अवधिमा हजारौं मूल अष्ट्रेलियाली नागरिक मारिएका थिए भने कयौं बिस्थापित भएका थिए । सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भयो तर अझै पूर्ण गणराज्य बन्न सकेको छैन ।

सर्वेक्षणहरूमा अधिकांश अष्ट्रेलियाई गणतन्त्रको पक्षमा देखिएका छन् । तर राज्यको प्रमुख कसरी चुन्ने भन्ने विषयमा खासै सहमति हुन सकेको छैन । रानीको स्थानमा संसदकै सदस्यमध्ये एक चुनिने वा अन्य जनप्रतिनिधि भन्ने विवाद कायम छ ।

प्रतिक्रिया दिनुहोस्