मोदी सरकारविरुद्ध साझा मञ्च बनाउने ममता बनर्जीको प्रयास

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले भारतका नयाँ राष्ट्रपतिको निर्वाचनसँगै केन्द्र सरकारविरुद्ध ‘प्रतिरोध’मा एकजुट हुने उद्देश्यका साथ प्रतिपक्ष दलहरुको भेला आह्वान गरेकी छन्।

विभिन्न गैर भारतीय जनता पार्टीका नेताहरुलाई लेखेको पत्रमा बनर्जीले जुन १५ (असार १)मा दिल्लीस्थित ‘कन्स्टिच्युशन क्लब’मा भेला हुन आग्रह गरेकी छन्।

‘एउटा दरिलो प्रजातान्त्रिक मुलुकको चरित्र बोकेको मुलुकमा प्रभावकारी प्रतिपक्षको आवश्यकता हुन्छ। मुलुकका प्रगतिशील शक्तिहरु अहिले देखापरेका विखण्डनकारी शक्तिविरुद्ध एक हुनु जरुरी छ।

केन्द्रीय सरकारका निकायहरुले प्रतिपक्षका नेताहरुलाई नियतवश निशाना बनाइरहेको, अन्तर्राष्ट्रिय जगतमा मुलुकको छवीमा गिरावट आएको र आन्तरिक रुपमा कलह सिर्जना गरिएको छ,’ पत्रमा भनिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी नाम उल्लेख नगरिए पनि प्रतिपक्षलाई एक ठाउँमा ल्याउने प्रयास वर्तमान सरकारविरुद्धको प्रतिकारको साझा मञ्च बनाउने उद्देश्यले हुन लागेको उनको पत्रमा स्पष्ट छ।

अर्को महिना हुन लागेको राष्ट्रपति चुनावको प्रसंग निकाल्दै बनर्जीले प्रतिपक्षमा रहेका सबै प्रगतिशील शक्तिहरु एकठाउँमा आइ भारतीय राजनीतिको आगामी मार्गबारे छलफल गर्न उपयुक्त अवसरका रुपमा यसको सदुपयोग गर्नुपर्ने उनले बताएकी छन्।

मुलुकमा प्रजातन्त्र कठीन अवस्थाबाट गुज्रिरहँदा प्रतिपक्षको यो समागमले वञ्चित र प्रतिनिधित्व नपाएका समुदायहरुको चाहना प्रतिध्वनित हुने मञ्ज बन्ने आशा पनि उनले व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्