विद्यार्थी भर्ना अभियान प्रतिष्पर्धा, विद्यार्थी तान्ने दाउमा पोशाक झोला बाड्नु गलत

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ चैत्र २०८१, बुधबार
4 Min Read
Aa

दाङ – वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएसंगै विद्यालयहरुले विद्यार्थी भर्ना अभियानलाई तिव्र पारेका छन । यतिबेला विद्यालयका शिक्षक, शिक्षिका हरेक अभिभावकका घरदैलोमा पुग्दै बालबालिकाको बारेमा जानकारी लिने दिने र आफ्नो विद्यालयमा भर्ना गर्न अभिभावकलाई अनुरोध गर्दै आएका छन ।

वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएपछि विद्यालयहरू विद्यार्थी भर्ना अभियानमा लाग्ने चलन सामान्य हो । शिक्षकमण्डलीले अभिभावकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर आफ्ना विद्यालयका सुविधा, गुणस्तर, उपलब्धि, र वातावरणका बारेमा जानकारी दिनु र भर्नाका लागि प्रेरित गर्नु प्रभावकारी रणनीति बन्न सक्छ ।

अभिभावकलाई सुझाव ः
विद्यार्थी तान्ने दाउमा विद्यालयहरुले विद्यालय पोशाक, झोला जुत्ता वितरण गर्ने गरेको पाइन्छ । यस्तो खालको प्रवृति गलत हो यो कार्य रोकिनु पर्दछ । लामो समयसम्म संचालन भएका विद्यालयहरुले अझैं पनि अभिभावक र विद्यार्थीलाई पोशाक, झोला, जुत्ता र छुटको प्रलोभनमा पारेर विद्यालयप्रति विद्यार्थीको आकर्षण गर्न खोज्नु राम्रो होत ? लामोसम्म विद्यालयले बनाएको चिनारी यहि होत ? अहिलेको परिपेक्षमा यो खालको सिकाई र बुझाई आम अभिभावक माझ लैजान खोज्नु राम्रो मानिदैन ।

सबै विद्यालयमा दक्ष शिक्षक शिक्षिका हुनुहुन्छ, स्वस्थ प्रतिष्पर्धात्मक तरिकाले पठनपाठन गरौँ, राम्रो वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरियो भने विद्यार्थीको ओइरो लाग्छ भर्ना हुनका लागि त्यसपछि किन बाड्नु पर्यो विद्यालय पोशाक अनि झोला ? अर्काे कुरा अभिभावक पनि सचेत हुन् जरुरी छ किन भने हाम्रा बालबालिकाले के गर्न खोजि रहेका छन, उनीहरुको लगाव र झुकाव केमा छ ? उनीहरुको पठनपाठन कस्तो छ कुन विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ यावत कुराको ख्याल गर्दै विद्यालय रोज्न सक्नु पर्दछ ।

विद्यालय पोशाक, झोला जुत्ता पाउने लोभमा कहिँ हाम्रा बाबुनानीको भविष्य अन्धकार तिर धकेल्दै त छैनौं ! यो कुरामा हामी गम्भीर बन्न आवश्यक छ । ४÷५ हजार रुपैयाँको लोभमा जीवनभर पछुताउने काम गर्नु भन्दा बेलैमा सचेत बन्नु पर्छ भन्ने हामी सबैको मान्यता हो ।

विद्यालय भर्नाका लागि अभिभावक र विद्यार्थीलाई प्रेरित गर्न यस्ता प्रभावकारी रणनीतिहरू अपनाउन सकिन्छ ः
घरदैलो अभियान अन्तर्गत शिक्षक ÷ शिक्षिकाले घरमै पुगेर व्यक्तिगत सम्पर्क गर्ने, बालबालिकाको सिकाइ स्थितिबारे बुझ्ने र अभिभावकसँग संवाद गर्ने, विद्यालयको शैक्षिक वातावरण, अनुशासन, सुविधा, र सफलताको बारेमा जानकारी गराउने तर्फ ध्या दिनु पर्छ ।

त्यस्तै विद्यालय भ्रमण कार्यक्रम अन्तर्गत अभिभावक र विद्यार्थीलाई विद्यालयमा बोलाएर प्रत्यक्ष अनुभव गराउने, कक्षाकोठा, पुस्तकालय, ल्याब, कम्प्युटर कक्ष, खेलमैदान आदि देखाउने । विद्यालयको सफलताको प्रदर्शन अन्तर्गत एसईइ, कक्षा ८ वा अन्य परीक्षामा प्राप्त उच्च नतिजा देखाउने, पूर्व विद्यार्थीको सफलता कथाहरू सुनाउने र प्रतियोगिता, खेलकुद वा सांस्कृतिक कार्यक्रममा जितको विवरण प्रस्तुत गर्ने गर्नु पर्दछ ।

सञ्चार र प्रचार अन्तर्गत सामाजिक सञ्जालमा प्रचार सामाग्री राख्ने, लोकल एफएम रेडियो, पम्प्लेट, पोस्टर, ब्यानरमार्फत जानकारी प्रवाह गर्ने, भिडियो सन्देश वा सफल विद्यार्थी तथा अभिभावकको प्रतिक्रिया साझा गर्ने, विशेष छुट वा प्रोत्साहन अन्तर्गत समयमै भर्ना गर्ने विद्यार्थीलाई छुट वा छात्रवृत्तिको व्यवस्था गरिनु पर्दछ यसले विद्यालयको हित गर्छ ।

अभिभावकसँग निरन्तर संवाद अन्तर्गत पूर्व विद्यार्थीका अभिभावकलाई बोलाएर उनीहरूको अनुभव साझा गराउने कार्यक्रमको आयोजना गर्ने, प्रत्येक अभिभावकसँग विद्यालयको लक्ष्य, योजना र पठन–पाठनको पद्धति स्पष्ट गर्नु पर्छ । सामुदायिक समावेशिता अन्तर्गत स्थानीय समाजसेवी, वडा अध्यक्ष वा अन्य प्रभावशाली व्यक्तिलाई समेटेर अभिभावक भेलाको आयोजना गर्दै समुदायलाई विद्यालयप्रति उत्तरदायी बनाउने प्रयास गर्नु पर्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्